Jhankri for Dolma Sherpa

डोल्मा बचाउन बोष्टनमा 'झांक्री' चलचित्रको प्रदर्शन
बिजय तामाङ्ग,
अमेरिका बोष्टन,
May 4, 2008- ग्रेटर बोष्टन नेपाली कम्युनिटी (Greater Boston Nepali Community – GBNC) को आयोजनामा नायक अमृत लामाको निर्माणमा बनेको नेपाली कथानक चलचित्र 'झांक्री' यहाँको हार्वर्ड विश्वविद्यालयको विज्ञान केन्द्रको हलमा प्रदर्शन गरियो।सो कम्युनिटीका उत्तम बाबु श्रेष्ठले झांक्री चलचित्र प्रदर्शन गर्नुको उद्धेश्यबारे प्रकाश पार्दै मृत्यु दण्डको सजाय पाई कुवेतको जेलमा विगत छ महिनादेखि बन्दि जिवन बिताईरहेकी नेपाली चेली डोल्मा शेर्पा बचाउ अभियानको सहयोगको लागि यो चलचित्रको प्रदर्शन गरिएको बताउनुभयो ।डोल्मा शेर्पा गोर्खामा जन्म भई सिन्धुपाल्चोकमा बसोबास गर्दै आएको र आफनो श्रीमानले अर्की श्रीमती बिहे गरे पछि आफनो बालबालिकाको भरणपोषणको लागि रोजगार गर्न ऊनी कुवेत पुगेकी थिईन्‌ ।कुवेतमा ऊनी एक फिलिपिनो महिला र एक भारतीय नागरिक ड्राइभर सहित तीन जना कुवेती साहुको घरमा कार्यरत थिईन्‌ । उक्त घरमा फिलिपिनो महिला मृत्यु भएको मृतको हातमा डोल्माको रौं भेटिएको र डिनए परिक्षण गर्दा उक्त रौं डोल्माकै भन्ने प्रमाणित भएपछि कुवेतको एक अदालतले उनीलाई मुत्यु दण्डको सजाय सुनाएको थियो ।डोल्मा बचाउ अभियानमा संसार भरिका नेपालीहरुबाट सहयोग भइरहेको सन्दर्भमा बोष्टन अमेरिकाबाट पनि केही सहयोग गर्ने उद्धेश्यले अभिप्रेरित भई नेपाली कथानक चलचित्र झांक्री प्रदर्शन गरिएको व्यहोरा GBNC को वर्तमान अध्यक्ष प्रेम तामाङ्गले उक्त कार्यक्रममा बताउनु भयो । कार्यक्रमबाट प्राप्त रकम अमेरिकाको लागि नेपाली राजदुत डा. सुरेश चालिसे वा संयुक्त राष्ट्रसंघका लागि नेपालका प्रतिनिधि मधुरमण आचार्य मार्फत सम्वन्धित निकायमा पुरयाउने कुरा अध्यक्ष तामाङ्गले बताउनुभयो