बोष्टनको द्यौसी भैलो


बोष्टन, October 30, 2008- राधजानी शहर काठमाण्डौलाई तिहारको रन्कोले छोए जस्तै अमेरिकाको बोष्टनलाई पनि तिहारको रन्कोले छोएको छ । तिहारको तेस्रो दिन अधिकांश बोष्टनबासीहरुले आ-आफ्नै घरमा परम्परानुसार लक्ष्मी पुजा मनाए । हिन्दु धर्ममा लक्ष्मीलाई धनधान्यको देवीको रुपमा पुज्ने चलन छ । लक्ष्मीले बास गरे धनले भरिपूर्ण भइन्छ भन्ने किंवदन्ती नेपाली समाजमा पाइन्छ ।ग्रेटर बोष्टन नेपाली कम्युनिटीको आयोजनामा सदाझैं द्यौसी भैलो खेल्ने क्रममा यो वर्ष पनि सोही संस्थाको आवहानमा लक्ष्मी पूजाको दिन बेलमण्टस्थित जिबिएनसीका उपाध्यक्ष उत्सव गुरुङको घरमा द्यौसी भैलो खेलियो । 'मायालु काँको म परें गोरखाको बोष्टनमा भेट भा'को' भन्ने भाकामा चर्चित लोक गायक मिन केसीलाई अन्य कलाकार तथा साथीहरुले साथ दिएका थिए भने बाँकी उपस्थित महानुभावहरुले पालैपालो नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यतिखेर यस पंक्तिकारलाई आफू बोष्टनमा नभएर नेपालकै गाउंघरमा उपस्थित भएजस्तो लागेथ्यो । आफ्नै देश नेपालकै परम्परागत बाजाहरु मादल खैंचेडी, सारङगी र हार्मोनियमको तालमा लोक गीत र नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । उक्त द्यौसी भैलो कार्यक्रम बेलुकी ८ देखि ११ बजेसम्म चलेको थियो । तिहार नेपालीहरुको महान चाडहरुमध्ये एक हो र तिहारमा द्यौसी भैलो खेल्ने दान माग्ने र दिने चलन सदियौंदेखि चलि आएको चलन हो । यो नेपालीहरुको परम्परा र संस्कृति हो । विदेशमा बस्दा पनि आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नसक्नु आफ्नो देश र परम्पराप्रतिको अगाध माया र ममता हो भन्ने कुरामा कसैको दुईमत नहोला । संसारको जुनसुकै कुनामा बसेपनि आफ्नो देश र संस्कृतिबाट अलग रहन सिकंदैन भन्ने उदाहरण द्यौसी भैलो कार्यक्रमले देखाएको छ । यसले गर्दा विदेशमा पनि हाम्रा भावी सन्ततीहरुलाई आफ्नो संस्कृति र परम्पराबारे अवगत भइराख्छ भन्ने बिश्वास हामीलाई लागेको छ ।अन्त्यमा उपाध्यक्ष उत्सवकी धर्मपत्नी पुष्पाले द्यौसी भैलो टोलीलाई परम्परानुसार नाङ्‍लामा पैसा, फलफुल र धुपबत्ति बालेर बिदाई गरेकी थिईन्‌ भने कलाकार मिन केसीले आशिक िदंदै संस्थाका महासचिव ध्रुब घिमिरेले कार्यक्रमको समापन गर्दै अर्को दिन समरभिलमा खेल्ने द्यौसी भैलो कार्यक्रमको जानकारी गराउनु भएको थियो । समरभिलमा खेलिएको द्यौसी भैलोलाई यहांको स्थानिय टेलिभिजनले पनि प्रसारण गरेको थियो ।